१९ वटा भाषाको संयुक्त गजलसङ्ग्रह


काठमाण्डु ।  नेपाली गजलको विकास, विस्तार र परिस्कारका लागि कृयाशील संस्था अनाममण्डलीले प्रकाशन गरेको १९ ओटा विभिन्न भाषामा लेखिएको ऐतिहासिक संयुक्त गजलसङ्ग्रह 'राष्ट्रिय भाषाका गजलहरू' को हिजो काठमाडौँको राड्ट्रिय सभागृहमा विमोचन गरियो । 
गजलकारहरू ज्ञानुवाकर पौडेल, देवी नेपाल, धीरेन्द्र प्रेमर्षि, रोशनकुमार राजभण्डारीलगायतले पुस्तकको विमोचन गर्नुभएको थियो ।
उक्त पुस्तकबारे बोल्दै समालोचक प्रभाती किरणले पुस्तक ऐतिहासिक महत्त्वको रहेको बताउनुभयो भने देवी नेपालले अनाममण्डलीका हरेक कार्यहरू नयाँ र ऐतिहासिक हुने गरेका उल्लेख गर्नुभयो । साहित्यकार धीरेन्द्र प्रेमर्षिले उक्त पुस्तकमा समग्र नेपालको प्रतिनिधित्व रहेको बताउनुभयो । प्रमूख अतिथि पौडेलले अनाम नाम राखेर सुनाम कमाइरहेको अनाममण्डलीलाई शुभकामना दिनुभयो ।
पुस्तकको संयोजन सम्पादन घनेन्द्र ओझा, सुरेश सुवेदी र बलराम दाहालले गर्नुभएको हो । सोही कार्यक्रममा कन्दरा पब्लिकेशनद्वारा प्रकाशित युवागजलकार गुलाब कान्छोको गजलकृति 'कुल्चिएको गुलाब' को पनि विमोचन गरिएको थियो । उक्त पुस्तकबारे समालोचक सरोज घिमिोरेले बोल्नुभएको थियो । अनाममण्डलीका संयोजक बलराम दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा गजलकारहरू सुरेश सुबेदी, घनेन्द्र ओझा, जय गौडेल लगायतले बोल्नुभएको थियो ।
शब्द तस्विर ः अनाम मण्डली