गजल

बिष्णु वाग्ले
एक्लै यात्रा जिन्दगीको गर्छु भनि हिड्दाखेरि ।
रोकिदियौ तिम्ले खोला तर्छु भनि हिड्दाखेरि ।

म पनि त एक्लै छु नि यात्रा गर्ने जिन्दगीमा,
धैर्य गर भन्दै आयौ मर्छु भनि हिड्दाखेरि ।

आँखा भित्रै राख्छु भनि आँशु मात्रै झरीदियौ,
कसिंगर आँफै रैछु झर्छु भनि हिड्दाखेरि ।

अझै पिडा थपिदियौ माया गर्ने बाहानामा,
सबै मोह छाडि पर सर्छु भनि हिड्दाखेरि ।

बाचा सँधै चुकिदिन्छ साहाराको लठ्ठि हुने,
बुझें बल्ल भूमरिमा पर्छु भनि हिड्दाखेरि ।
किचनास ४, दहपोखरी स्याङजा