मोतीराम दिवसको अवसरमा गजल प्रतियोगिता र स्मारिका विमोचन

इटहरी १२ भदौ । १४६ औ मोती जयन्तीको अवसरमा धनकुटामा खुल्ला गजल प्रतियोगिता भएको छ । नेपाल गजल प्रतिष्ठान धनकुटाशाखा र सल्लेरी साहित्य संगमले आयोजना गरेको प्रतियोगितामा कृष्ण सदवहारले प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै खगेन्द्र भण्डारीले दोस्रो, खगेन्द्र थापाले तेस्रो र मिलन पराजुलीले सान्त्वना स्थान हासिल गरेका छन् । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटाका कोष तथा लेखा नियन्त्रक बाबुराम सुवेदी, साहित्यकार शेषराज शिवाकोटी, समाजसेवी दोर्ण गुरागाईँलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । सो कार्यक्रमको सभापतित्व सल्लेरी साहित्य संगम धनकुटाका अध्यक्ष रमेशचनद्र अधिकारीले गर्नु भएको थियो । त्यस अवसरमा साहित्यकार शेषराज शिवकोटीलाई सम्मान गरिएको थियो ।
यस्तै नेपाल गजल प्रतिष्ठान भोजपुर शाखाले प्रकाशित मोत जयन्तीका अवसरमा गजल स्मारिका विमोचन गरेको छ ।
पुस्तकमा केहि महिनाअघि भोजपुरमा आयोजित पूर्वाञ्चलस्तरीय गजल प्रतियोगितामा सहभागी रचनाको साथमा अन्य गजलकारहरुको रचना समावेश गरिएको छ । नेपाली साहित्य विधामा लोकप्रिय बन्दै गएको गजलप्रति युवाको उत्साहलाई प्रतिष्ठानले सम्मानस्वरुप गजलसम्बन्धी खुराकहरु पस्किदै जाने गजल प्रतिष्ठान भोजपुरका अध्यक्ष राजन साम्पाङले बताउनुभएको छ ।
उता रोल्पाको लिबाङमा तीन वटा कृति एकैसाथ विमोचन भएका छन् । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले आज लिबाङमा ‘जिल्ला स्तरीय गजल प्रतियोगिता तथा साहित्यिक कार्यक्रम’को आयोजना गरी जलजला रोकामगरको ‘समर्पण’ गजलसंग्रह, डी.वी.मगर ‘स्वेद’को ‘एक यात्रा अनेक मोड’ गजलसंग्रह र मधु वलीको ‘अधुरो जीवनको अधुरै सपनाहरू’ जीवनीसंग्रहको विमोचन गरेको हो । वरिष्ठ साहित्यकार नारायणप्रसाद सुवेदीले कृतिहरु विमोचन गर्नु भएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.वी. टुहुरोले जानकारी दिनुभयो ।
यस्तै १ सय ४६ औ मोतीजयन्तीको अवसरमा आज जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा गजल बाचन कार्यक्रम सम्पन्न भएको छ । निमित्त क्याम्पस प्रमुख भिमबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापकहरु दिपेन्द्र शर्मा, नवीन कुमार श्रेष्ठ, गोकर्ण प्रसाद पुनमगर, अमृत बाँठामगर, खेम बहादुर खड्का क्षेत्री, कृष्ण प्रसाद न्यौपाने लगायतले मन्तव्य तथा रचना बाचन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा क्याम्पसमा अध्ययनरत खेमराज गाउँले, टेककुमारी वली, सिर्जना शर्मा, यम विरही मगर, निमकुमारी डाँगी, सिर्जना सेन, कर्ण डाँगी, नरेन्द्र बुढामगर, शान्ति घर्तीमगर, श्याम लेकाली, खिमराज कवर, लोकन्द्र थापामगर लगायतले गजल तथा रचनाहरु बाचन गर्नुभएको थियो । कार्यक्रमको सन्चालन क्याम्पसका उपप्राध्यापक होमनाथ न्यौपानेले गर्नुभएको थियो ।