गजल

- चन्द्रकला जोशी रोदन

किन गर्नु रिस धेरै जानुपर्छ सबले एक दिन ।
दुवै हात खालीले'रै जानुपर्छ सबले एकदिन ।

कस्को मिति कहाँ सम्म, छैन थाहा कसैलाई,
लाग्दैन नि कत्ति बेरै, जानुपर्छ सबले एक दिन ।

कोही अमर मरेर नि, कोही जिउँदै मरे समान,
असल कर्म हुन्न खेरै, जानुपर्छ सबले एक दिन ।

न त रोक्छ सम्पत्तिले, न त ठुला पदले हजुर,
जताततै सबै मेरै, जानुपर्छ सबले एक दिन ।

सम्पत्तिको थुप्रो आफ्नो, पार्न जे जे गरेपनि,
आफू मरे सबै तेरै, जानुपर्छ सबले एक दिन ।

युगौ देखि चल्दै आ को, रित यस्तै भए पनि,
आफन्तलाई आँशु देरै, जानुपर्छ सबले एक दिन ।
- कोलाहलबस्ती, धनगढी