गजल

- विरेन्द्र वेहोशी
इन्सान हौ भने त, अभिमान गर्नु हुन्न ।
व्यर्थै परायाजनका, इमान हर्नु हुन्न ।

सुकर्म नै हो तिम्रो सुमार्गको चिनारी,
लोभ्याउनेको झुटो बोलीमा पर्नु हुन्न ।

जो पाखुरी घसेर पाल्दैछ बालबच्चा,
खोसेर गाँस उसको अब पेट भर्नु हुन्न ।

आपसमा फुट ल्याइ झन दुरता बढाई,
अब छल कपट्को तिमिले बीज छर्नु हुन्न ।

भातृत्व नै चिनारी पुर्खाहरुको हाम्रो,
इतिहास त्यो सुनौलो कौडीमा झर्नु हुन्न ।
- बैतडी, हाल धनगढी