गजल

 - विपल बोयुङ  
ननिको त पेटै तिम्रो जति खाए'नि भोको ।
अझ पुग्या छैन तिम्रो रजाइँ गर्ने धोको ।

बिचल्लीमा छौ कि कसो छट्पटा'को  देख्छु,
चलाउँदैन तर पानी पनि मैले छो'को।

भिजाउँछ त भन्थ्यो ब्यारे महलको सोफा,
हो पो क्यारे जस्तो लाग्यो देख्दा तिमी रो'को ।

सेरोफेरो ठानिरह्यौ बाह्रैकाल मेरो,
मर्यादालाई छोपी बेच्यौ इज्जतको पोको ।

बूँद(बूँद मिलेपछि सागर बन्दो रै'छ,
देख्यौ होला ज्वाला बनी बिस्फोटिए को-को ?