गजल


अमला अधिकारी, सिन्धुली

मेरा बाले गोरू नारेको हेर्न आऊ
आमाले बीउ उमारेको हेर्न आऊ

कति मुस्किलले बनाउँछ चराले घर
चुच्चोले झिँजा ओसारेको हेर्न आऊ

के हेर्छौ पर्यटक सहरमा कृतिमता
प्रकृतिले गाउँ सिँगारेको हेर्न आऊ

दर्शिनढुङ्गामा झुलो राखेर हजुरबाले
चकमकले आगो पारेको हेर्न आऊ

कसले भन्यो माया गर्दिनँ तिमीलाई
शब्दमा तस्वीर उतारेको हेर्न आऊ