गजल सिद्धान्तको पुस्तक

पुस्तक विमोचन गर्दै प्रा डा त्रिपाठी
काठमाण्डौं २४ पुस । घनेन्द्र ओझाद्वारा लिखित ‘नेपाली गजल ः सिद्धान्त र विवेचना’ पुस्तक शुक्रबार  विमोचन भएको छ ।
नेपाली गजलको क्षेत्रमा क्रियाशील संस्था अनाममण्डलीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा. डा. वासुदेव त्रिपाठीले पुस्तक विमोचन गर्नुभयो ।
  गजलकार एवम् समालोचक ओझाको पुस्तक विमोचनसगै अर्न्तक्रिया समेत सम्पन्न भएको छ । कार्यक्रममा समालोचकहरु रामप्रसाद ज्ञवाली, देवी नेपाल, प्रभाती किरण, गजलकार ललिजन रावल, दीपक खड्कालगायतले पुस्तकबारे बोल्नुभएको थियो ।
  समालोचक नेपालले नेपाली गजलको क्षेत्रमा नयाँ शैली र नयाँ विषयलाई समेटेको तथा सवासय वर्षको नेपाली गजललेखन परम्पराको समग्र तस्वीर प्रस्तुत गरिएको हुँदा पुस्तक बहुउपयोगी भएको उल्लेख गरे । अर्का समालोचक ज्ञवालीले नेपाली गजलसिद्धान्त र समालोचनाको क्षेत्रमा प्रस्तुत पुस्तक महत्त्वपूर्ण रहेको बताउनु भयो । स्नातक तहको पाठ्यक्रममा समावेश गजलको पनि विश्लेषण गरिएको हुँदा पुस्तक त्रिविका विद्यार्थीका लागिसमेत उपयोगी हुने उहाको भनाइ थियो ।
  प्रमुख अतिथि डा. त्रिपाठीले नेपाली गजलको ऐतिहासिक पक्षका साथै समग्र प्रवृत्तिको समेत विश्लेषण गरिएको र गजलसिद्धान्त तथा वस्तुपरक र व्यक्तिपरक समालोचना पनि गरिएको हुँदा पुस्तक ओजपूर्ण र गम्भीर भएको बताउनु भयो ।