गजल

- किराँती भोगेन एक्ले
तिमीलाई होइन मैले आपैmसंग ढाँटेको छु ।
लुकाउन सत्यलाई झुटहरु बाँटेको छु ।

हिजै खोल्नु थियो कुरो स्वार्थले लुकाइरहेँ,
आजचाहिँ दिल खोली भन्नलाई आँटेको छु ।

खोलिसक्नु छैन यहाँ विषादका पोकाहरु,
थुमथुम्याउँदै जिन्दगी चुपचाप काटेको छु ।

रुचाएको जीवन हिजै छुट्यो अन्तै कतै,
बाँकी जे छ दिन रात सम्झौतामा साटेको छु ।

जतिसक्दो टालीरहेँ च्यातिएको यो मनलाई,
आज भने धुजाधुजा जताततै फाटेको छु ।

दुःख टेक्दै सुखको पछिपछि लागिरहेँ,
लालचा यो मनको अबचाहिँ छाँटेको छु ।