गजलकार रेग्मीको स्मृतिमा कोष र पुरस्कार

अल्पायुमै दिवंगत भएका विराटनगरका गजल-साहित्यका चम्किला नक्षत्र राजेश्वर रेग्मीको स्मृतिमा "राजेश्वर रेग्मी-स्मृति कोष" स्थापना गर्ने निर्णय गरियो ।
रेग्मीका पिता नन्दराज रेग्मी र सौगात प्रकाशन प्रालि संस्थापक-संरक्षक रहेको कोष सन्चालन र व्यवस्थापनका लागि उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति चयन गरिएको छ । समितिमा प्राध्यापक कृष्ण वस्ती, साहित्यकार विवश पोखरेल, हीरा रेग्मी, महेशकुमार दाहाल र भीमप्रसाद घिमिरे सदस्य र टेकप्रसाद अधिकारी (टेकेन्द्र) सदस्य-सचिव छन् । कोषले अक्षय कोषका लागि रकम जुटाउने कार्य सुरु गरेको छ ।
कोषले हरेक वर्ष एकजना स्रस्टालाई "राजेश्वर रेग्मी-स्मृति साहित्य पुरस्कार"ले पुरस्कृत गर्नेछ । कोष स्थापनामा पिता नन्दराज रेग्मी, श्रीमती हीरा रेग्मीलगायत रेग्मी परिवारको महत्वपूर्ण योगदान छ । हामीले पनि होस्टेमा हैँसे गर्ने अवसर पायौँ ।
खासगरी गजल र कवितामा कलम चलाउँदै आएका स्वर्गीय रेग्मीका "परिभाषा हराउँदा" र "विघटनको तयारीमा" (मरणोपरान्त) कृति प्रकाशित छन् । उनका गजलमा समसामयिक सामाजिक परिवेश, अभाव, पीडा, प्रेम र राजनीतिक विषयवस्तु समेटिएका छन् । त्यसबाहेक उनले विभिन्न पत्रपत्रिकामार्फत नेपाली साहित्यबारे दर्जनौं फुटकर लेखरचना लेखेका छन् । गजल-विधामा पूर्वान्चल क्षेत्रमात्र होइन राष्टि्यस्तरमै चर्चा पाएका रेग्मीको आत्मालाई शान्ति मिलोस् ।