गजल

- छवि ज्ञवाली
मन्को मैलो फाली हेर हुन्छ दीपावली ।
माया प्रेम हाली हेर हुन्छ दीपावली ।

मैन बत्ती, दीयो पानस निभिहाल्छन् हावा चले,
मनकै दीप बाली हेर हुन्छ दीपावली ।

बिकृतिलाई धपाउन थाल्नै पर्छ नौलो यात्रा,
सुस्त पाईला चाली हेर हुन्छ दीपावली ।

भत्केका छन् विचारहरु बाटोघाटो जस्तै हाम्रा,
टाल्नै पर्छ टाली हेर हुन्छ दीपावली ।

पहिचान, परिचय, छवि हाम्रा ढलेका छन्,
सबै भए माली हेर हुन्छ दीपावली ।
भैरहवा, रुपन्देही