गजल

–    दिव्य गिरी
तुवाँलोले ढाकेको आकाश देखें
दिनभर तिमीलाई उदास देखें ।

यौटैसँगको माया अमर हुन्छ,
तिमीसँग कैले पुष्कर, कैले प्रकाश देखें ।

धर्म, संस्कृति र परम्परा कता गयो ?
हिजो आज विकृतिको विकास देखें ।

सूर्य उदाएकै हो हाम्रो छानामाथि
घरभित्र सधैं अँध्यारोको वास देखें ।

नेताको पछिपछि लागेका छौ मित्र
कविभन्दा राजनीतिको दास देखें ।

कस्को स्वार्थमा बन्दुक बोकेर हिँड्यौ
घरघरमा ढलेको आफन्तकै लास देखें ।

ऊ अझै अस्मिता लुट्न खोज्दै छ
बलात्कारीलाई तिम्रै आसपास देखें ।

चुनेर पठाएका थियौ जसलाई
उसैले उठाएको तिम्रो वास देखें ।

भैगो छोड, हावाको चित्र बनाउन
‘दिव्य’ खै, कस्ले भन्यो बतास देखें ।
टीकाथली–५, ललितपुर,