गजल


- कृष्ण के श्रेष्ठ “काल्स”
डिडो सँग खाने तिहुन छैन गरीबका ।
मिट मसला त के नुन छैन गरीबका ।

चर्की सके झुपडी बर्षातको पानीले,
दशैमा पोत्ने थोरै चुन छैन गरीबका ।

झल्मल्ल बत्ती तिहारमा सबैका,
रात छ चकमन्न जुन छैन गरीबका ।

दुई बर्से छोरोको जन्मदिन भोली,
केक हैन दिने सगुन छैन गरीबका ।

काठयाङ्ग्रिने रात काटनु छ सहेरै,
आङ डाक्ने सानो उन छैन गरीबका ।

पितलका नेक्लेस तामाका औंठि,
बिहेमा लगाइदिन सुन छैन गरीबका ।

छी छी गर्छन तल्लो जात भनि ठुला,
उस्तै उस्तै रातो खुन छैन गरीबका ।
हाल - योकोहामा, जापान