गजल

कपिल ज्ञवाली “जिज्ञासु”
कपिल ज्ञवाली “जिज्ञासु”

शहर पापी हो कि मान्छे, पापी हुन्छन् शहरमा ।
आफ्नै दाहिने हातपनि, घाती हुन्छन् शहरमा ।

गाँस चुड्यो गरीबी र हामी सोझा हुदांखेरी,
हरामी र अगतिला, जाती हुन्छन् शहरमा ।

प्रकृति र मिलानमा द्धिबिधा यो हुन्छ जब,
मिठो मुख तर तितेपाती हुन्छन् शहरमा ।

ब्यर्थैं हुन्छन् जीवनहरु, देखासिकी गर्ने हुदां,
सफा ज्यान हुनेहरु, काती हुन्छन् शहरमा ।

मनखुसी नहुने भो जुगै भरी औंसीसंगै,
मध्य दिननी हाम्रा लागि, राती हुन्छन् शहरमा ।