गजलमा तन्नेरीहरु

यात्री शेखर
एउटा गजल यस्तो लेखौं जस्मा सारा प्रहर अटुन् ।
खोलानाला सागरका साना ठुला लहर अटुन् ।
कालो गोरो सबै अटोस्, धनी गरीब सबै अटुन् ,
एउटै थलो बनोस् जाहाँ अमृत अनि जहर अटुन् ।’
सबै अटाउने गजल लेख्न मन पराउने १९ बर्षे नविनले गजल लेख्न थालेको ५ बर्ष भन्दा धेरै भयो । ‘१२ १३ बर्षको उमेर देखी नै गजल लेख्न थालें तर पहिले र अहिलेका गजलमा फरकपन आएको महशुस भएको छ ।’ उन्ले थपे ‘गजल सुन्न र भन्न जति सजिलो छ लेख्न धेरै गाह्रो पनि ।’ पहिले पहिले राजाका खोपीमामात्र गाइने गजल अहिले आएर जनजिव्रोमा बस्न थालेको छ । गजल गायनबाट भित्रिएको विधा हो । तर बाचनमा पनि उत्तिकै जमेको छ । आजकाल धेरैजसो ठाउमा गजल गाउने गरिन्छ । धेरै गजलले संगीतको साथ पाएका छन् । अहिले बजारमा यस्ता गजलहरु लोकप्रिय भेरहेका छन् । गजलले मानिसलाई एकोर्याउन थाले पछि गजललाई सहित्यको विधा नै नमान्ने पुराना सहित्यकार कविले समेत गजल लेख्न सुरु गरे ।
           युवा पुस्ता त गजल भने पछि हुरुक्क हुन थालेको छ । साहित्यमा आउने नयाँ युवा जमात त गजलबाट आफ्नो सिर्जना यात्रा सुरु गर्दैछ । यसैको एउटा उदाहरण हुन् झापाको दमकका नविन मिश्र । नविनले गजल लेख्न थाले पछि आफेनो नाम नै बदले र ‘नविन प्राचिन’ बने । ‘गजलले मन छुने भएकाले यतै तानिंए’ नविनले भने गजलबाट आफ्ना भावनाले अरुको मन छुन सकिन्छ ।’ नविन मात्र हैन धनकुटाका मिलन बुढाथोकी पनि गजल लेख्न थाले पछि ‘मिलन विछोड’ नामले परिचित हुन थालेका छन् । एक बर्ष अगाडी देखी गजल लेख्न सुरु गरेका मिलन विछोड आफ्ना भावना पोख्ने उपयुक्त विधा गजल मात्र भएको दावी गर्छन् । उनि भन्छन् ‘सानै देखी भावुक आफ्नो बानी अनुसार सिर्जना पस्किन गजल सर्वोत्तम विधा रहेछ ।’
          १७ बर्षे दीपा दाहालले पनि २ बर्ष अगाडी देखी गजलबाटै लेखन यात्रा सुरु गरेकी छन् । झापाको चारपानेकी दीपाले आफ्नै उमेरका एलीना संग्रौला, अम्बिका कडरिया, दीपिका मिश्रसंग मिलेर संयुक्त गजलसंग्रह प्रकाशित गर्न समेत भ्याइसकेकी छन् । ‘विर्तामोडको भेटघाट चौतारीमा हुने साहित्यिक कार्यक्रममा भाग लिदालिदै गजल लेख्न थालियो’ दीपाले थपिन ‘संरचनामामा लेखिने हुनाले लेख्न ग्राहो भए पनि पढन र बुझ्न सजिलो भएकाले म लगायत साथीहरुले गजलको यात्रा सुरु गरेका हौं ।’
                  आयातित विधा भए पनि हामीमाझ लोकप्रिय हुदै गएको गजलललाइ अझ विकास र विस्तारमा सहयोग पुर्याउन गजल लेख्नथालेको बताउने मोरङको सिंहदेवीका जी वी खडका ६ बर्षदेखी गजल लेख्दैछन् । अध्यनन सगसगै साहित्यमा कलम चलाउने खडका गजल लेख्न थाले पछि जी वी गजल नामले परिचय बनाउदैछन् । ‘साहित्यले मानिसको मानषपटलमा छाप पार्न सक्नु पर्दछ’ ०६२ सालदेखी गजल लेख्न थालेका स्याङ्जाको वालीङका २१ बर्षे युवराज सुवेदी भन्छन् ‘गजलमा मानिसको मानषपटलमा हलचल ल्याउने शक्ति छ । त्यसले पनि हामी जस्ता साहित्यका शिकारुहरु गजलमा कलम चलाउन थालेका छौं ।’ रहरै रहरमा दुइबर्षदेखी गजल लेख्दै आएको बताउने भोजपुरका २० बर्षे किरणचन्द्र कार्कीले गजल प्राविधिक विधा भएकाले यसमा रस र भवना सललल् बग्ने भएकाले आफु यता तानिएको जनाए ।
                      नविन, मिलन, दीपा, किरण नेपाली गजलमा लागेका केहि तन्नेरी प्रतिनिधिमात्र हुन् । गएको शुक्रबार र शनिबार झापाको दमकमा भएको त्रिदेशीय गजल महोत्सवमा पनि तन्नेरीहरु अधाभन्दा धेरै देखिन्थे । महोत्सवमा विमोचन भएका पाँचवटा गजल कृति मध्ये अधिकांस तन्नेरीका कृति हुन् ।
              मानिस सधै सजिलोको खोजीमा हुन्छ । सुविधाको खोजीमा हुन्छ । तन्नेरीहरु गजलमा आर्कशित हुनु पनि सुविधाको खोजीकै परिणाम लाग्छ गजलकार प्रकाश आङ्देम्बेलाई । ‘गजल सरल हुन्छ, यस्ले धुमाउरो भाषा बोक्दैन र खोक्रो बौद्धिकताको भ्रम पनि फैलाउदैन । त्यसैले तन्नेरीहरु गजल लेख्न तम्सिएका छन् ।’ प्रकाशले प्रस्ट पारे ‘गहिरो सागरको सङ्लो पानी हो गजल । सतह नजिकै देखेर खुट्टा हाले र्चुलुम्म डुब्ने ।’ बरिष्ठ गजलकार बुँद रानालाई पनि गजलको शक्तिले युवा तानिएको लागेको छ । ‘ धेरैले लेखेका गजलमा देश दुख्नुको पीडा देखी माया प्रीतिका कुरा सम्म पाएको छु । गजलमा पाइने श्रृगारिकता र माया प्रीतिले पनि युवामन छोएको छ ।’ रानाले थपे ‘ यर्थाथमा गजलले लेख्ने परम्परा स्थापित भइसकेको छ । यस्को उदाहरण हो झापाको दमकमा भएको त्रिदेशीय गजल महोत्सव ।’
                  तर बरिष्ठ गजलकार डा. कृष्णहरी बराल भने सञ्चार माध्यम र प्रचार प्रशारले पनि गजलमा तन्नेरीहरु आर्कशित भएका हुन । ‘अहिले विभिन्न संस्था लागि परेका छन् अनि सञ्चारमाध्यमले पनि गजललाई ठाउ दिएका छन् । जस्ले गर्दा युवा पुस्ता गजललेख्न लागेको छ । ’ नेपाली गजलबारे गहिरो अध्ययन गररहेका डा. बरालले भने ‘गजलमा मुक्तक, कविता, गीत जस्ता दुइचारवटा विधामा पाइने गुण एउटैमा पाइन्छ जस्ले तन्नेरी मन तानेको छ ।’ ‘युवा पुस्ता गजलमा आउनु खुसिको कुरा हो ।’ बरालले खुसि व्यक्त गरे ‘यस्ले गजलको भविष्य सुनौलो छ भन्ने प्रमाण पनि हो ।’ यै भविष्यलाई साकार पार्न केशव आर्चायले लेखे
‘लेख मलाई नचुकी भन्दैछ गजल
हो सबैको ढुकढुकी बन्दैछ गजल’