गजल

एकु घिमिरे
घरमा खाने नून छैन जूनको गजल कति लेखौं ?
गोपीनीको नाममा बज्ने धुनको गजल कति लेखौं ?

चराजस्तो रुखैपिच्छे गुँण सार्नु नियती छ,
न त घर, न छ भित्तो चूनको गजल कति लेखौं ?

कहिले हुन्छिन् छाउपाडीमा, कहिले मुख मलखाडीमा,
केवल चर्चा कमाउन उनको गजल कति लेखौं ?

हामी सबै नामर्द हौं स्वतन्त्रता ब्याज खाने,
लोकतन्त्रका लागि बग्या खूनको गजल कति लेखौं ?

पहाड तोड्ने, ढुङ्गा फोड्ने, पूल जोड्ने फलाम रै'छ,
सुन्दरीको सोह्र सृङ्गार सुनको गजल कति लेखौं ?
श्रीअन्तु-२, इलाम
हाल- धरान-१४, सुनसरी