गजल

सुवास श्रेष्ठ

तन मन मुटु सबै टाल्दैछु अझै पनि ।
बद्नामीका खाँबाहरू ढाल्दैछु अझै पनि ।

मिलावटी जमानाको मेल छुट्याउनलाई,
मेरो भागको ढुङ्गा माटो चाल्दैछु अझै पनि ।

दुवै मिली लाएको पिपल तिमी टाढा भएपनि,
बिहान बेलुकी सधैँ पानी हाल्दैछु अझै पनि ।

आफ्नो रहर पूरा गर्दै टाडा गयौ तिमी तर,
तिम्लाई पाउने मेरो रहर पाल्दैछु अझै पनि ।

मार्न तम्सेकोछ जमाना  मनको दीयो तर,
हत्केलाले हुरी छेकी  बाल्दैछु अझै पनि ।