गजल


- प्रदिप चापागांइ
रंग फेर्छौ रातो निलो कैलो अनि अजिव छ,
संघारमै काँडेतार छ दैलो अनि अजिव छ !!

सजिलो छैन हेर मनको दाग के ले धुन्छौ,
मेटिदैन टाँसो फेरी मैलो अनि अजिव छ !!

शंका त्यो घाती हुन्छ लंका जलाउँछ रे,
पाप हो कि पुण्य भित्र थैलो अनि अजिव छ !!

गाउँछौ तिमी भने यहाँ सुन्ने त हुनु पर्यो,
सुनसान छ आँगन तिम्रो भैलो अनि अजिव छ !!

अलंकार देखाउँछ ऐनालाई सोधी हेर,
छल्किन्छ आधा पानी घैलो अनि अजिव छ !!